गुलरिया । १४ भदौ २०८२
बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारले मृत्यु दर्ता गराएपनि उनीहरूको अवस्था पत्ता नलाग्दा सम्म बेपत्ताको सुचिबाट नहटाउने बताउनु भएको छ । उहाँले परिवारले बाध्यताले मृत्यु दर्ता गराएको वा न्यायीक मृत्यु घोषणा गराएको भएपनि उनीहरूको खोजबिन गरि अवस्था सार्वजनिक गर्ने बताउनु भएको हो ।

१५ औँ अन्र्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा बर्दियाका द्वन्द्वपीडित परिवारहरूसँग अन्तरसंवाद गर्दै उहाँले सो कुरा बताउनु भएको हो । द्वन्द्वपीडित परिवारले राखेका जिज्ञासाहरूको उत्तर दिँदै उहाँले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको उजुरीको आधारमा सत्य तथ्य जाँच गरी अवस्था सार्वजनिक गर्ने बताउनु भयो ।
बेपत्ता पारिएका कतिपय व्यक्तिहरूको सामाजिक साँस्कृतिक कारणले गर्दा काजकिरिया गरेका छन् भने कतिपय परिवारले कानुनी बाध्यताले मृत्युदर्ता समेत गरेका छन् । द्वन्द्वपीडित समिति ठाकुरबाबाकी अध्यक्ष उमा मल्लले मृत्यु दर्ता गरेका व्यक्तिको हकमा बेपत्ता आयोगले के गर्छ भनेर प्रश्न सोध्नु भएको थियो ।

बढैयाताल गाउँपालिका वडा ९ बस्ने बेपत्ताकी श्रीमती जुना सापकोटाले छिट्टै नै आफ्नो श्रीमानको लास वा सास देखाउन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो –“यतीका बर्ष भयो, हामीले न्याय पाएका छैनौँ, अझै पनि आयोगले भत्ता मात्रै खाने काम नगरोस् हामीलाई न्याय चाहियो ।”
आयोगकी अध्यक्ष गड्तौलाले शान्ती सम्झौता भएको लामो समयसम्म बेपत्ता पारिएका व्यक्तिहरू अवस्था सार्वजनिक नहुँदा र परिवारले न्याय नपाउँदा आँफुहरू दुःखी भएको बताउँदै आयोगको चार बर्षे अवधिमा देश भरका सम्पूर्ण बेपत्ता पारिएका व्यक्तिहरूको खोजविन गरि अवस्था पत्ता लगाउने बताउनु भयो । उहाँले बेपत्ता पार्ने दोषी व्यक्तिहरू माथी अभियोजन गर्ने, पीडितलाई न्याय दिलाउने र परिपुरणका लागि सरकार समक्ष सिफारिस गर्ने बताउनु भयो ।

उहाँले बर्दिया नेपाल मै सबै भन्दा बढि बेपत्ता पारिएको जिल्ला भएको बताउँदै हाल सम्म दुई सय ६१ ओटा बेपत्ताका उजुरी आयोगमा दर्ता भएको बताउनु भयो । जसमध्ये दुई सय ३१ जना पीडित परिवारले राहत पाएका छन् बेपत्ता आयोगमा नेपालभरबाट दुई हजार छ सय ४० जना बेपत्ता पारिएको भन्दै उजुरी दर्ता भएका छन् ।
१५ औँ अन्तराष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा बर्दिया जिल्लामा द्वन्द्वपीडित परिवारहरूले शान्ती र्याली निकालेका थिए । भने द्वन्द्वपीडित समिति बर्दियाको अगुवाईमा पीडित परिवार र आयोग विच अन्तरसंवाद कार्यक्रम भएको थियो । करिब तीनसय ५० पीडित परिवार सहभागी कार्यक्रममा ३४ जना पीडित परिवारले दुई ओटै आयोग समक्ष आफ्ना भनाई राखेका थिए ।

