
भुरीगाउँ । २७ चैत्र २०८१
सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका ठाकुरबाबा नगरपालिका १ भुरीगाउँका रामदास थारुको २३ वर्ष पछि २०८१ चैत्र २७ गते परिवारले मृत्यु संस्कार गरेका छन् । उनको कुशको शव बनाएर थारु संस्कार अनुसार अन्त्यस्टि गरिएको हो । हुलाक कार्यालयको हल्कारा पदमा कर्मचारी रहेका २३ वर्षीय रामदासलाई कार्यालय समयमा कार्यालयमा काम गरिरहेको अवस्थामा २०५८ साल चैत २६ गते सोमबारका दिन साविक नेउलापुर गाविस स्थित हुलाक कार्यालयमा काम गरिहेको अवस्थामा तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरि बेपत्ता पारेको हो । वुवालाई वेपत्ता बनाउँदा दाजु १० वर्ष र आफु ५ वर्षको रहेकोले घटना बारेका त्यति धेरै जानकार नभएपनि आमाले भनेको आधारमा थाहा भएको छोरी अस्मिता कुस्मा थारुले बताईन ।

आफुले बुवा फर्कने आशमा २३ वर्ष बसेको र फर्कनु हुन्छ भन्ने आश मर्दै गएको र थारु समुदायका कुनै पनि ब्यक्ति वेपत्ता भएको लामो समय नफर्किएको अवस्थामा मृत्यू संस्कार नगरे आत्माले दुःख दिने धार्मिक विश्वासका कारण अन्तिम संस्कार गर्न लागेको छोरी अस्मिताले बताइन् । सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका आफ्नो बुवा जस्तै सयौंं ब्यक्तिहरुको अवस्था थाहा पाउन नसक्दा परिवार झन पीडित हुन परिरहेकोले सरकारले तत्काल वेपत्ता आयोगलाई पुर्णता दिई काम गर्न माग पनि छोरी अस्मिताले गरिन् ।

