बढैयाताल, २५ फागुन
बढैयाताल गाउँपालिकामा सशस्त्र द्वन्द्वको क्रममा सहिद र वेपत्ता पारिएका पीडितको सम्झनामा सहिद वेपत्ता स्मृतिपार्क निमार्ण गरिने भएको छ ।

बढैयाताल गाउँपालिकामा फागुन २५ गते द्वन्द्व परिवारहरुसंगको छलफलमा अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले देशमा गणतन्त्रात्मक संघीय राज्य ब्यवस्था ल्याउन रगतको बलिदानी दिएका सहिद र वेपत्ता पारिएका पीडितको सम्झनामा सहिद वेपत्ता स्मृति पार्क निमार्ण प्रक्रियालाई नितिगत रुपमै निर्णय गरी अगाडी बढने बताउनु भएको हो । यसका लागि बढैयाताल गाउँपालिका ५ जगतियामा निमार्णधिन सामुदायीक भवन स्थललाई नै सहिद वेपत्ता स्मृति पार्कको रुपमा बिकास गर्न कुनै समस्या नभएको अध्यक्ष त्रिपाठीले बताउनु भयो ।
सोही अवसरमा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० सम्बन्धी नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन शुरु भइसकेको र चैत्र महिना भित्र पीडित तथा प्रभावित महिला तथा बालिकाको आवश्यकता पहिचान गरिसक्ने बताउनु भयो । ती पहिचान भएका आवश्यकतालाई सम्बोधन गर्न आगामी बर्षको सभाबाट निति तथा कार्यक्रम बनाएर बजेत पनि विनियोजन गरी अगाडी बढ्ने पनि उपाध्यक्ष अधिकारीले बताउनु भयो ।

द्वन्द्व पीडितहरु आफ्ना सवालमा छलफलका लागि आफ्नै नेतृत्वमा वकालत बैठकका लागि बढैयाताल गाउँपालिकासंग समन्वय गरेका थिए । बढैयाताल गाउँपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न गरिरहेको नितिगत योजनाको बिषयमा छलफल भयो । बढैयाताल गाउँपालिका क्षेत्रका पीडितको समस्या सम्बोधनका लागि लिखित माग पत्र पेश गरी नितिगत निर्णय गर्न ध्यानाकर्षण गराए ।
सिभिसि बर्दियाका अध्यक्ष भागीराम चौधरीले द्वन्द्व पीडितहरुसंगको बैठकमा स्थानीय तहका प्रतिनिधीले सकारात्मक कुरा गर्दै काम गर्ने प्रतिवद्धता गर्ने गरेको तर ब्यवहारमा लागि गर्नमा गाम्भिर्यता नदेखाउने गरेको भन्दै यस किसिमको प्रबृति दोहोरीन नहुने कुरामा जोड दिनु भयो ।
